NEB Students
Nepali

NEB — CLASS 12

Nepali

Model Question

Model Question

Answer each question in your own words as far as practicable. The figures in the margin indicate full marks.

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)

Time : 3 hrsPass Marks : 27Full Marks : 75
1.
तलको वाक्यमा रेखाङ्कित शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्यासमेत लेख्नुहोस् :
नेपाल प्राकृतिक सौन्दर्यले सुशोभित छ । नेपालका विविध ठाउँबाट सूर्योदय देख्न सकिन्छ । नेपाल संसारमै पर्यटनका लागि आकर्षक केन्द्र बनेको छ ।
[3]
2.
शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
वनविनाशका कारण अहिले हरेक देस प्रदूषणको जोखिममा छन् । विश्वका सबै राष्ट्र वनविनाशको समाधानमा अग्रसर हुनुपर्ने देखिन्छ बढ्दो वनविनाशलाई न्यूनिकरण गर्न वृक्षरोपन गर्नु उपयुक्त हुन्छ ।
[3]
3.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)
अनुसन्धान गरेवापत आफ्नो पारिश्रमिकको दोस्रो किस्ता बुभेर ऊ खुसीले गद्गद् हुँदै सरासर घर गयो । परिश्रमबाट पाएको रकम आमाका हातमा राखिदिँदा उहाँ मुसुक्क हाँस्नुभयो ।

तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

(ख)
एक थुकी सुकी सय थुकी नदी भन्ने कुरा होस् कि गाँस छोड्नु तर साथ नछोड्नु भन्ने कुरा होस्, यस्ता भनाइहरू त्यत्तिकै प्रचलनमा आएका होइनन् । नदिने बज्यै आइतबार बाछिन् भने भैँ यिनीहरूले हाम्रो जीवनलाई हरियाली बनाउने र मुट्ठी पार्दा पाँचओटे औँलाको महत्त्व दर्साउने काम गर्छन् । सामूहिकताका विषयमा आफू त मुखमा बुभो हालेर बसिँदैन बरु नेटो काटिन्छ ।

तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

[2]
4.
तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
हामी घुम्दाघुम्दै पोखरीनजिक पुग्यौँ । “आबुई ! कत्रो माछो !” अग्रिमले पोखरीको माछो देखाएर भन्यो ।
[3]
5.
तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
किताब अध्ययन गर्ने बानी भए पनि उनले खेल्ने सामान जस्तै, मोटर, हवाईजहाज र डुङ्गा आदिको नमुना पनि स्वयम् बनाएर खेल्दै रमाउँथे अनि साथीहरूलाई ज्ञान पनि दिन्थे ।
[2]
6.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)
एक आपसमा मिलीजुली सहकार्य गर्ने साथी, बन्धुबान्धव वा अन्य जोकोही व्यक्ति सहकारी हो । सहकार्य भनेको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो । सहकार्यको यही अभिप्रायलाई लिएर आधुनिक अर्थशास्त्रीले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले स्थापित संस्थालाई सहकारी भनेका छन् । सहकार्यबाट सम्मान प्राप्त भई कुविचार अन्त्य हुन्छ ।

तलको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

(ख)
हिन्दु संस्कृतिका समूह, मण्डल, गण, गुरुकुल एवम् बुद्ध धर्मका सङ्घ, नेवारी समुदायमा प्रचलित गुठी, ग्रामीण समाजमा प्रचलित भारोपर्म, धर्मभकारी, ऍचोपैँचो, सहकारिका आदि रूप हुन् । यस किसिमका सहकारीले पारस्परिक सरसहयोग र सहकार्यका माध्यमबाट पाटीपौवा, धर्मशाला, बाटोघाटो, चउर चौतारा आदिको निर्माण, वृक्षारोपण जस्ता मानवहितका कार्य गरेर सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याएका छन् ।

तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

[3]
7.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)
रमेश आजभोलि बुबालाई निकै सहयोग गर्छ । उसले विद्यालयबाट घर आएपछि खेतबारीमा गएर काम सघाउन थालेको छ । उसले हिजो विराटनगरबाट बुबाका लागि ग्रिनटी र आमाका लागि पनि औषधी लिएर हवाईजहाजबाट आज जनकपुर आयो ।

तलको अनुच्छेदमा रेखाङ्कित पदहरूका कारक पहिचान गरी तिनको नाम लेख्नुहोस् :

(ख)

उच्च आदरमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् :

तिमी सधैँ समयमै विद्यालय गयौ । तिमी अनुशासित भई पढ्यौ । तिमीले गुरुहरूले भनेको पनि मान्यौ । तिमी परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्रथम भयौ ।
[4]
8.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)

चारओटा फरक फरक सम्भावनार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा तपाईँको भावी कार्यको वर्णन गर्नुहोस् ।

(ख)

तलको अनुच्छेदका वाक्यलाई करणमा परिवर्तन गर्नुहोस् :

तिम्रो स्वभाव राम्रो छैन । तिमीलाई सबैले मन पराउँदैनन् । तिमी मिहिनेती पनि छैनौ । तिमी जीवनमा सफल हुँदैनौ होला ।
[4]
9.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)

तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

शिक्षकले भन्नुभयो, "तिमीहरूको पढाइ राम्रो छ ।"

विद्यार्थीहरूले एक स्वरमा भने, "यो सब हजुरको प्रेरणाले हो ।"

शिक्षकले भन्नुभयो, "तिमीहरू निकै मिहिनेती छौ ।"

विद्यार्थीहरूले भने, "हामी सक्दो मिहिनेत गर्छौँ ।"
(ख)

तलका वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

सगरमाथा नेपालमा छ । सगरमाथा विश्वको सर्वोच्च शिखर हो । सगरमाथा नेपालको पहिचान हो । सगरमाथाले पर्यटकहरूलाई आकर्षित गरेको छ ।
[4]
10.
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपाल खुला एवम् बजारोन्मुख अर्थव्यवस्था भएको मुलुक हो । हाम्रो देशले आफ्नै स्रोतसाधनको परिचालन गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नु र व्यापार व्यवसायको प्रवर्धन गर्नु यसको मूल उद्देश्य हो । सामान निकासी, पैठारीलाई समयानुकूल बनाई राजस्व सङ्कलन गर्दा देशको अर्थतन्त्रमा टेवा पुग्छ । आफ्नो देशमा उत्पादित जडीबुटी तथा कृषिजन्य वस्तुलाई व्यवस्थापन गरी मुनाफा आर्जन गर्न सकिने ढाँचामा हाम्रो वाणिज्य नीति तय भएको छ । व्यापार घाटा कम गर्न र रोजगारीको सङ्ख्यामा वृद्धि गर्न यस नीतिले सहयोग पुर्‍याउने अपेक्षा लिइएको छ । प्राकृतिक र जैविक विविधताले युक्त यस देशमा उत्पादनलाई उचित प्रविधि र जनशक्तिको संयोजनद्वारा निर्यात प्रवर्धन गर्न सकिने सम्भावना टरेको छैन । लघु उद्योग, घरेलु उद्योगलाई प्रोत्साहन गर्दै नेपाली माटो सुहाउँदो अर्थतन्त्र निर्माणतिर लाग्ने हो भने राज्यको राजस्व सङ्कलनमा पनि वृद्धि हुन्छ । देशभित्रै रोजगार सिर्जना गर्नका लागि उद्योग व्यवसाय सञ्चालनार्थ राज्यले निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्न सके हाम्रो अर्थव्यवस्था मजबुत बन्न पुग्छ । यसरी सरकारले सहजकर्ताको भूमिका निर्वाह गरी उत्प्रेरक र नियामक निकायबाट अनुगमनसमेत गर्दै निजी क्षेत्रको पनि सक्रिय सहभागितामा देशलाई आर्थिक समृद्धिको बाटामा हिँडाउन सक्छ ।
प्रश्नहरू:
  1. नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ ?
  2. राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ ?
  3. देशको समृद्धिमा निजी क्षेत्रको भूमिका के हुन सक्छ ?
  4. निजी क्षेत्र र सरकारको सम्बन्ध कसरी जोडिएको हुन्छ ?
  5. देशभित्रै रोजगारी सिर्जनाका उपायहरू के के हुन् ?
[5]
11.
दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :

हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गरेका छन् । ब्रह्माण्डको उत्पत्ति निश्चित परिभाषित सिद्धान्तअनुसार भएको मान्यता राख्ने हकिडले यसको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताएका छन् । यस बिन्दुलाई वैज्ञानिकले सिङ्गुलारिटीको संज्ञा दिएका छन् । क्वान्टम पुञ्जका रूपमा रहेकाले सर्वाधिक घनत्वको अवस्थामा रहेको यस बिन्दुलाई हकिडले ब्ल्याकहोल भनेका छन् । उनले ब्ल्याकहोल अत्यन्त भारयुक्त ताराको अवसानपछि निर्माण हुने भएकाले तारा अनन्त भए भैँ ब्ल्याकहोल पनि अनन्त हुन सक्ने र तीमध्ये केही ब्ल्याकहोलमा महाविस्फोटन भई ब्रह्माण्डको उत्पत्ति हुने मान्यता राखेका छन् । हकिडले सुरुमा आइन्स्टाइनले भने भैँ ब्ल्याकहोलभित्रको स्थान, समय र गुरुत्वाकर्षणको प्रबलताका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्कने र त्यसले सबै चिज आफूमा समाहित गर्ने भएकाले त्यसको भार बढ्छ भन्ने धारणा राखेका थिए । पछि उनले यस सम्बन्धमा आफ्ना मौलिक विचार प्रस्तुत गरे । उनले अधिक गुरुत्वशक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाए । उनकै नाममा यस विकिरणको नाम पनि 'हकिङ्स रेडियसन' राखियो । ब्ल्याकहोलमा महाविस्फोटन भएर उत्पन्न भएको ब्रह्माण्ड खुम्चँदै गएर पुनः ब्ल्याकहोलमा परिणत भएपछि त्यसको अन्त्य हुने विचार पनि उनले प्रस्तुत गरे । हकिडले प्रस्तुत गरेको यो विचार र संसारकै प्राचीनतम् ग्रन्थ 'ऋग्वेद' मा प्रस्तुत भएको सृष्टिसम्बन्धी दृष्टिमा निकै समानता रहेको देखिन्छ ।
[2]
12.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)

कक्षा १२ उत्तीर्णपश्चात् विद्यालयले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र लिन आफू उपस्थित हुन नसक्ने भएका कारण उक्त प्रमाणपत्र दिदीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दै लेखिने मञ्जुरीनामाको नमुना तयार पार्नुहोस् ।

(ख)

बढ्दो महँगीले जनजीविकामा पारेको प्रतिकूल असरका बारेमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।

[4]
13.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)

आफ्नो विद्यालयको वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।

(ख)

'बढ्दो बेरोजगारी समस्या' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

[5]
14.
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क)
म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु ।
(ख)
हेरौँला त्यो हरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
[4]
15.
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क)
उनी सोझिन् हामीलाई कहाँ जाने दाइ
भन्नुपर्ला हिमालको बुटी खोज्नलाई
डोरेटामा कस्तुरीले तिरिन च्यापी हेर्लान्
पातैपात चरा नाच्ने पातलले घेर्लान् ।

(अ) माथिको कवितांशमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

(आ) माथिको कवितांशमा 'हिमालको बुटी खोज्नु' भन्नुको आशय के हो ?

(ख)
हामीले विकल्प खोज्नुपर्छ । सबैले उही काम गरेर हुँदैन । हाम्रा आवश्यकता असीमित छन् । तिनको परिपूर्तिका लागि विविधता आवश्यक हुन्छ तर नगर्नु भन्दा केही गर्नु राम्रो हो । 'देखासिकी गरी खा आरिसे मरी जा' भन्ने हाम्रो उखान पनि छ । जहाँसम्म हाम्रो जस्तो उद्योगको कुरा छ, त्यसमा भने अहिले कति पनि काम भएकै छैन । हामीले गरेका काम त हात्तीका मुखमा जिरा जस्ता मात्रै हुन् । यस्ता हजारौँ उद्योग हुनुपर्छ । केही कुरामा भने हामीले ध्यान दिनैपर्छ । पहिलो कुरा हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन । दोस्रो कुरा, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको संस्कृति बसाउनुपर्छ । त्यसो गर्न सके हामी जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा जान्छौँ ।

(अ) 'केही नगर्नु भन्दा केही गर्नु राम्रो' भन्नुको तात्पर्य लेख्नुहोस् ।

(आ) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?

[4]
16.
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क)

सहकारीले नेपालको विकासमा कसरी सहयोग पुर्‍याएको छ ? चारओटा पक्ष उल्लेख गरी प्रस्ट पार्नुहोस् ।

(ख)

नेपाली विविधतालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ ? 'नेपाली पहिचान' पाठका आधारमा तर्क दिएर पुष्टि गर्नुहोस् ।

[8]
17.
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
(क)

'एक चिहान' उपन्यासमा चित्रण गरिएको नेपाली समाजको तस्विर कस्तो छ ? उपन्यासका आधारमा समीक्षा गर्नुहोस् ।

(ख)

ममताले सुबोधलाई परित्याग गरेर छोराछोरीसँग नै सम्पूर्ण जीवन बिताउने भनी गरेको निर्णय तपाईँलाई कस्तो लाग्यो ? 'मातृत्व' कथाका आधारमा आफ्नो प्रतिक्रिया दिनुहोस् ।

[5]
18.
कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
(क)

नेपालको सांस्कृतिक विविधता

(ख)

मेरो देश : मेरा गौरव

(ग)

प्राविधिक शिक्षा : आजको आवश्यकता

[8]